काठमाडौँ - अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजले विश्वकप २०२२ को संस्करणमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते। उनको राष्ट्र अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टीमा ४-२ ले पराजित गर्दै उपाधि जितेको हो। टिमलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेकै कारण २१ वर्षका उनी अवार्डको हकदार बनेका हुन्।
पोर्चुगिज क्लब बेन्फिकाका लागि खेल्ने २१ वर्षीय फर्नान्डेजले विश्वकपमा मेक्सिकोसँगको खेलमा राष्ट्रिय टिमका लागि पहिलो गोल गरेका थिए। मेक्सिकोसँगको त्यो गोलपछि उनी विश्वकपका गोल गर्ने अर्जेन्टिनाको दोस्रो कान्छो खेलाडी बनेका छन्। सन् २००६ को विश्वकपमा आइभरी कोष्टविरुद्ध मेस्सीले २० वर्षको उमेरमा गोल गरेका थिए।
फर्नान्डेजले पोल्यान्डसँगको खेलमा जुलियन अल्वारेजलाई गोल असिस्ट गरेका थिए। उक्त खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० ले पराजित गरेको थियो। स्कोलानीको टिमलाई फर्नान्डेजले मिडफिल्डमा एंकरको भूमिका बखुबी निभाएका थिए। उनको उपस्थितिले अर्जेन्टिनाले ट्रान्जिसन प्लेको डिफेन्सदेखि अट्याकमा अपग्रेड गर्यो र विश्वकप नै जित्यो।
उनको सानै उमेरमा खेललाई पढ्न सक्ने क्षमताले यस विश्वकपमा उनलाई उत्कृष्ट युवा खेलाडीको अर्वाडको योग्य बनायो। फर्नान्डेजले २०२२ को सेप्टेम्बरमा होन्डुरससँगको खेलमा अर्जेन्टिनी टिममा डेब्यु गरेका थिए। उक्त खेलमा अर्जेन्टिनाले होन्डुरसलाई ३-० ले पराजित गरेको थियो।
उनले अर्जेन्टिनी क्लब रिवर प्लेटबाट स्नातक गरेका छन्। उनले २०१९ मा अर्जेन्टिनी क्लब डिफेन्सा वाई जस्टिसियामा लोनमा प्रवेश पाएका थिए। डिफेन्सामा रहेर उनले कोपा सुदामेरिकाना र रिकोपा सुदामेरिकाना जितेका थिए। उनी २०२२ मा बेन्फिकामा आवद्ध भएका हुन्। जहाँ उनले १३ खेल खेल्दै १ गोल गरेका छन्।