काठमाडौँ - जुलेन लोपेटेगुइले उल्भ्सको व्यवस्थापकीय जिम्मेवारी सम्हालेयताको पहिलो खेलमा उल्भ्सले गिलिंघमलाई मंगलबार २-० ले हराएको छ। उल्भ्स जितसँगै इंग्लिस लिग कपको क्वाटरफाइनल पुग्न सफल भएको छ। त्यस जितमा खेलको अन्त्यतिर सब्टिच्युट राउल जिमिनेज र रायन अइट-नुरीले गोल गरेका थिए।
उल्भ्सले गत महिना मात्र सेभिया र स्पेनका पूर्व प्रशिक्षकलाई क्लबको जिम्मेवारी दिएका थिए। इंग्लिस प्रिमियर लिगका पछिल्ला १५ खेलमध्ये एकैमा मात्र विजयी उल्भ्स रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको छ।
सेन्ट जेम्स पार्कका भएको अर्को खेलमा न्युकासलले प्रिमियर लिग प्रतिद्वन्द्वी बर्नमाउथलाई १-० ले हराएको छ। खेलको निर्णायक गोल चेरिस एडम स्मिथको नाममा आत्मघाती रह्यो। यस्तै साउथह्याम्पटनले लिन्कनलाई २-१ ले हरायो भने लेस्टर सिटीले मिल्टन केयनेस डन्सलाई सजिलै ३-० ले पराजित गरेको छ।