तोरीखोला होमस्टेको आफ्नै किसिमको हस्पिटालिटी

काठमाडौँ - तोरीखोला घरबासको स्वागत तथा सत्कार आफ्नै किसिमको छ।

समूहमा जाने पाहुनालाई गाउँलेले सेतो अक्षताको टीका र माला पहिराउँछन्। भजनर्कीतनसहित सामुदायिक भवनमा पुर्याएर ‘सगुन’ चखाउने गर्छन्। सामुदायिक भवन परिसरमा मौलिक नाचगानसहित स्वागत ग्रहण गरेपछि बल्ल पाहुना घरबासमा बाँडिन्छन्। सगुनमा कोदोको सेल रोटी, दही, मकै, भट्ट, सिन्की, मुला, गेँडागुडी आदिको परिकार हुन्छ।

विसं २०७६ कात्तिकदेखि सञ्चालनमा आएको त्यस घरबासप्रति पर्यटक आकर्षित भइरहेका बेला सोही वर्षको अन्त्यतिरबाट सुरु भएको कोरोना महामारीले व्यवसाय थलिन पुगेको थियो। “फाट्टफुट्ट पर्यटक आउनेक्रम सुरु भएको छ, अब विस्तारै ‘फ्लो’ बढ्दै जाला”, अध्यक्ष पुनले भनिन्, “हामी त पूर्ण क्षमतामा पाहुनाको सत्कार गर्न तयार छौँ, यसबीचमा घरबासको क्षमता पनि केही विस्तार भएको छ।” सुरुमा पाँच घरमा मात्र घरबास सेवा रहेकामा अहिले ११ घरमा पुगेको छ।

घरबास सञ्चालकले पर्यटकलाई गाउँको मौलिकता र पहिचानमा रमाउने वातावरण बनाएकी छन्। कूल ६३ घरधुरी रहेको तोरीखोला मगर बाहुल्य गाउँ हो। स्थानीय उत्पादन, कला र संस्कृतिले तोरीखोला अरुभन्दा भिन्नै छ। खानामा मकैको आटो, कोदोको ढिँडो, रोटी जस्ता परिकार बन्ने गरेको घरबास सञ्चालक सीता पुनले बताइन्। गाउँमै उत्पादित माछामासु, तरकारी, गेँडागुडी, आलु आदि भान्छामा पाक्छ।

सञ्चालक पुनका अनुसार पर्यटकले खाना, खाजासहित एक रात बिताएको रु. एक हजार २०० तिनुपर्छ। पेय पदार्थको भने अतिरिक्त शुल्क लाग्छ। मगर समुदायमा प्रचलित कला, संस्कृति पनि त्यहाँका आकर्षण हुन्। सोरठी, कौडा, थाली नाच, भजन, झ्यारेलगायतले पर्यटकलाई लोभ्याउँछ। घरबासबाट गाईघाट झरना, निलुवा, शिवधुरी, गलकोट दरबार, सहस्रधारालगायत नजिकका पर्यटकीय गन्तव्यस्थल पुग्न सकिन्छ। पुष्पलाल लोकमार्ग नजिकै रहेकाले तोरीखोला आउजाउ गर्न पनि सहज छ। सदरमुकामदेखि ४० किमी सडक यात्रामा त्यहाँ पुग्न सकिन्छ।

यी मात्रै होइन, जिल्लाका ३० भन्दाबढी घरबासका सञ्चालक व्यवसाय पुनःउत्थानको आशमा छन्। बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कारबाहेकका घरबास पछिल्लो दुई-तीन वर्षभित्रमा खुलेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×