काठमाडौँ - इंग्लिस मिडफिल्डर बुकायो साकाको गोलमा इंग्लिस क्लब आर्सनलले युरोपा लिगमा जित निकालेको छ। आर्सनलले घरेलु टोली बोडो ग्लिम्टलाई १-० ले पराजित गरेको हो।
आर्सनलको जितमा साकाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। साकाले २४औं मिनेटमा गोल गरेका थिए।
यस जितसँगै आर्सनल युरोपा लिगको समूह ‘ए’ मा ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ। बोडो ग्लिम्ट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
यही समूहको अर्काे खेलमा पिएसभी इन्डोभेनले एफसी जुरिचलाई ५-० ले पराजित गरेको छ। पिएसभीको जितमा जोए भिरमनले दुई तथा इरिक गुइटेरेज, इब्राहिम संगारे र अनवर इल घाँजीले समान एक गोल गरेका थिए।
यस जितसँगै पिएसभी ३ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। पराजित जुरिच अंकविहीन हुँदै पुछारमा रहेको छ।