पुनम, दीपा र इन्दिराले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

काठमाडौँ - नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्। डिफेन्डर पुनम जर्घा मगर, मिडफिल्डरहरू दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन्।

उनीहरूले सोमबार सम्पन्न छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका हुन्।

राखेप सदस्य सचिव टंकलाल घिसिङले तीनै जना खेलाडीलाई ब्लेजर लगाएर बिदाइ गरेका थिए। तीनै खेलाडीले विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्ने गर्छन्।

पुनम जर्घा मगर

२०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपबाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी पुनमले राष्ट्रिय टिमका लागि ३९ खेल खेल्दा १ गोल गरिन्। २९ वर्षीया पुनम स्वास्थ्य समस्याका कारण टोली बाहिर थिइन्। यसै  साफमा प्रशिक्षक कुमार थापाले उनलाई पुनरागमन गराएका थिए। उनले यो प्रतियोगिताका चारै खेल खेलिन्।

दीपा राई

२०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपबाट घरेलु टोलीविरुद्ध खेल्दै राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी दीपाले त्यसपछि लगातार राष्ट्रिय टिममा स्थान बनाइ राखेकी थिइन्। ३३ वर्षीय दीपाले राष्ट्रिय टोलीबाट ३६ खेल खेल्दा १ गोल गरेकी छिन्। उनी जारी साफमा श्रीलंकाविरुद्ध ८५ औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी थिइन्।

इन्दिरा राई 

इन्दिराले २०१८ मा चीनमा भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी हुन्। ३१ वर्षीया इन्दिराले राष्ट्रिय टिमबाट जम्मा ५ खेल मात्र खेलेकी छिन्। उनी छैटौं साफमा बेन्चमै सीमित भएकी थिइन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×