काठमाडौँ- नेपालले आइसिसी टि-२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत फिलिपिन्सविरुद्धको दोस्रो खेलमा टस हारेर ब्याटिङका निम्तो पाएको छ।ओमानको अल अमरेत क्रिकेट मैदानमा केही बेरपछि सुरु हुने खेलमा फिलिपिन्सका कप्तान जोनाथन हिलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ। कमल सिंह ऐरी र विवेक यादव बाहिरिँदा कुशल मल्ल र गुल्सन झाले मौका पाएका छन्। योसँगै गुल्सनले नेपाली सिनियर टोलीका लागि डेब्यु गर्ने भएका छन्। त्यस्तै वैकल्पिक खेलाडीका रूपमा रहेका कुशललाई शरद भेषवाकर घाइते भएपछि टोलीमा बोलाइएको हो।
नेपाल आज लगातार दोस्रो जितको खाेजीमा हुनेछ। उसले पहिलो खेलमा आयोजक ओमानमाथि ३९ रनको जित हात पारेको थियो। पहिलो खेलमा क्यानडासँग १ सय १८ रनको फराकिलो अन्तरले पराजित भएको फिलिपिन्स पहिलो जितको खोजीमा छ। नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया, आरिफ शेख, लोकेश बम, गुल्सन झा, अविनाश बोहरा र कुशल मल्ल