काठमाडौँ - नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले आउँदो फागुन पहिलो साता वडास्तरमा सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ।
आउँदो फागुन १ देखि ७ गतेसम्म सङ्गठन विस्तार अभियान सञ्चालन गरिने पार्टीले हालै निर्णय गरेको हो। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले वडास्तरमा भ्रातृ सङ्गठन विस्तार र सदस्यता वितरण गरिने निर्णय भएको पार्टी जिल्ला सचिव गुणराज मोक्तानले बताए। उनका अनुसार भ्रातृ सङ्गठन विस्तारसँगै सबै वडामा पार्टीको टोल समितिसमेत गठन गरिनेछ। काभ्रेपलाञ्चोकको छ नगरपालिका र सात गाउँपालिकामा १३५ वडा छन्।
पार्टी सङ्गठनलाई सुदृढ एवं चलायमान बनाउने अभियानअन्तर्गत नै आउँदो शनिबार जिल्लास्थित पालिका सभापति र वडा सभापतिका लागि एक दिवसीय प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ। मोक्तानका अनुसार प्रशिक्षणमा सम्बन्धित वडाबाट गाउँ–नगर कार्य समिति, प्रदेश तथा क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि, जिल्ला एवं प्रदेश कार्यसमितिमा प्रतिनिधित्व गर्ने पदाधिकारी, सदस्य एवं प्रतिनिधिलाई सहभागी गराइनेछ।