काठमाडौँ - काठमाडौँको जडीबुटीस्थित छ लेनको सडक खुलाउन सडकबीचमा रहेको एउटा कच्ची घर हटाइको छ। सडक विस्तारका क्रममा सडकबीचमा परेको उक्त घर काठमाडौँ महानगरपालिका र सडक विभागको समन्वयमा आइतबार साँझ हटाइएको हो। यससँगै माइतीघर–सूर्यविनायक छ लेनको सडक पूर्ण रूपमा खुल्ने भएको छ।
उक्त घरका कारण छ लेनको अति व्यस्त सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन। मूल सडकका दायाँ र बायाँ बनाइएका सर्भिस लेन निर्माणमा अवरोध हुँदा उक्त सडकमा सवारी जामको समस्या ठूलो रहेको छ।
यो समस्यालाई उजागर गर्ने गरी गोरखापत्र दैनिकले गत वैशाख १८ गते ‘छ लेनको सडक ठप्प’ र यही भदौ २२ गते ‘व्यस्त सडक खुलाउन हुँदैन’ पहल शीर्षकमा समाचार प्रकाशित गरेको थियो।
जापानी सहयोग नियोग (जाइका) सहयोगमा २०६१ सालमा बनेको नेपालकै पहिलो छ माइतीघर–सूर्यविनायक छ लेन सडक विस्तारको काम जग्गा र कच्ची घरको पुनः मुआब्जा विवादका अवरुद्ध बनेको थियो।
सडक विभागका महानिर्देशक इन्जिनियर अर्जुनजङ्ग थापाले कामपा–३२, जडीबुटी चोकस्थित सडकबीचमा रहेको अवैध कच्ची घर आइतबार काठमाडौँ महानगरपालिकाको सहयोगमा हटाइएको जानकारी दिए।
गोरखापत्र दैनिकबाट