काठमाडौँ - ‘रामसेतु’ र ‘थ्यांक गड’ दीपावलीको अवसरमा २५ अक्टुबरमा रिलिज हुँदैछन्। सबैको नजर यतिबेला अक्षयकुमार स्टारर रामसेतु र अजय देवगण स्टारर थ्यांक गडमाथि छ।
बक्स अफिसमा गिरेको बलिउडको व्यापार माथि उकास्ने अपेक्षा गरिएका यी २ फिल्ममाथि पनि नयाँ चुनौती थपिएको छ। उसै त बलिउड पहिलेदेखि नै हलिउड र दक्षिण भारतीय फिल्मका अगाडि खस्किँदै गएको छ। यस्तो अवस्थामा बलिउडका दुई प्रभावशाली स्टारको फिल्मलाई मराठी फिल्मले कडा टक्कर दिने देखिएको छ।
अक्षय कुमार र अजय देवगणको फिल्मसँग जुध्न आउँदैछ पेन इन्डिया लेभलमा मराठी फिल्म ‘हर हर महादेव’। यो फिल्म हलिउड र साउथ क्षेत्रबाट नभइ एक मराठी फिल्म हो।
फिल्म समीक्षकहरुले पनि अक्षयकुमार र अजय देवगण स्टारर फिल्मभन्दा हर हर महादेव फिल्मको कथा राम्रो रहेको प्रतिक्रिया दिएका छन्। हर हर महादेव मराठी-हिन्दीका साथै तमिल, तेलुगु र कन्नड भाषामा पनि रिलिज हुने भएको छ।
हर हर महादेव छत्रपति शिवाजी महाराज र त्यसबेला उनका प्रमुख सेनानायक रहेका बाजी प्रभु देशपाण्डेको कहानीमा आधारित छ। सुबोध भावे फिल्ममा छत्रपति शिवाजी महाराजको भूमिकामा छन् भने शरद केलकरले बाजी प्रभु देशपाण्डेको भूमिका निभाएका छन्।
मराठी फिल्म क्षेत्रमा निर्देशक अभिजीत देशपाण्डे चर्चित नाम हो र हिन्दीमा शरद केलकरको राम्रो फ्यान फलोइङ छ। त्यसैमाथि फिल्मको विषय पनि आकर्षक रहेको छ।
फिल्ममा मुगलविरुद्ध बाजी प्रभु देशपाण्डेको बहादुरी देख्न पाइनेछ। फिल्मका निर्माता र निर्देशकले मराठी मात्र नभइ हिन्दी दर्शकलाई पनि फिल्मले आकर्षण गर्ने दाबी गरेका छन्।
यो फिल्म ३०० मराठा योद्धाले १२ हजार मुगल सैनिकसँग गरेको युद्धमा आधारित छ। थोरै संख्यामा भए पनि मराठा योद्धाले जित हासिल गरेका थिए। यस युद्धमा मराठा सेनाको नेतृत्व बाजी प्रभु देशपाण्डेले गरेका थिए।
पछिल्लो समय साउथ फिल्मसँगै कन्नड फिल्म कान्ताराले पनि हिन्दी दर्शकबीच जसरी आफ्नो कब्जा जमाइरहेको छ यसलाई लिएर समीक्षकले हिन्दी दर्शकलाई अब राम्रो कन्टेन्ट चाहिएको टिप्पणी गरेका छन्।