काठमाडौँ - अफगानिस्तानविरुद्धको टी-२० सिरिज घरेलु टोली आयरल्याण्डले जितेको छ। गएराति सम्पन्न निर्णायक तथा पाँचौं खेलमा अफगानिस्तानलाई डकवर्थ लुईस पद्धतिमा ७ विकेटले हराउँदै आयरल्याण्डले ३-२ ले सिरिज जितेको हो।
पाँचौं खेलमा वर्षा बाधक बनेपछि आयरल्याण्डले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो। सो लक्ष्य उसले ६.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। उसका लागि पउल स्टर्लिङले १६, लोर्कान टकरले १४, कप्तान एन्डी बलबर्नि, ह्यारी टेक्टरले ९/९ र जर्ज डकरेलले अविजित सात रन बनाएका थिए। अफगानिस्तानका लागि मुजीबउर रहमानले २ र राशिद खानले १ विकेट लिएका थिए।
त्यसअघि बेलफास्टस्थित सिभिल सर्भिस क्रिकेट क्लबमा टस हारेर ब्याटिङको मौका पाएको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाएर ९५ रन बनाएको थियो। वर्षा बाधक बन्दा उसले १५ ओभर मात्र ब्याटिङ गर्न पाएको हो। अफगानिस्तानका लागि उश्मान घानीले अविजित ४४, अजमातुल्लाह उमरजाईले अविजित १३, नजिबुल्लाह जद्रान, हजरतुल्लाह जजाईंले १०/१० रन बनाएका थिए।
आयरल्याण्डका लागि मार्क आदिरले २ ओभरमा १६ रन दिएर ३ विकेट लिएका थिए। त्यस्तै, जोस लिटलले ३ ओभरमा १४ रन खर्चिएर २ विकेट लिएका थिए। सिरिजको पहिलो र दोस्रो खेलमा आयरल्याण्ड क्रमशः ७ र ५ विकेटले विजयी भएको थियो। तेस्रो र चौथो खेलमा भने ऊ २२ र २७ रनले पराजित भएको थियो।