काठमाडौँ - यातायातका साधन हुँदै पोखराबाट लगभग चार घण्टाको यात्रामा पुग्न सकिने कास्कीको सिक्लेस गाउँमा पुग्नासाथ ढुङ्गाले छाएको एवं छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर नमूना बस्ती देख्न सकिन्छ।
सुन्दर र सफा यस गाउँका बाटाघाटा तथा घर तथा चोकमा प्लास्टिक तथा कागज केही नभेटिँदा यो ठाउँ मानव सभ्यता र संस्कृतिको ज्वलन्त उदाहरण जस्तै बनेको छ। गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी एवं विदेशी अनुसन्धाता पनि यहाँ पुग्ने गरेका छन्।
त्यस्तै, यहीबाट कफुचे हिमतालसमेत पुग्न सकिन्छ। सिक्लेसमाथिको कफुचे हिमतालसम्मका क्षेत्र हिउँ परेका कारण सेताम्य हुने हुँदा यहाँको सुन्दरता मनमोहक देखिने गर्छ। यहाँस्थित 'सिक्लेस ईको म्युजियम'ले आउने जोकोहीलाई आकर्षित गर्ने गरेको छ। गुरुङ संस्कृतिको भेषभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रूपमा झल्काउने सामग्रीले सङग्रहालयको गरिमा र महत्व अझै बढाएको छ। सङ्ग्रहालयमा गुरुङ जातिका भेषभूषा तथा संस्कृतिको जानकारी गराउने सामग्रीका साथै यस क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडिबुटी आदिलाई सङ्ग्रह गरेर राखिएको छ।
सिक्लेसको कला, संस्कृति र प्रकृतिप्रति बढ्दै गएको पर्यटकीय आकर्षणसँगै जाडोको याममा समय समयमा पर्ने हिउँले यो ठाउँलाई पोखरा नजिकैको हिउँ खेल्ने गन्तव्यका रूपमा पनि देखाएको सिक्लेस होटेल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए। “आज बिहान गाउँमा नै हिउँ परेपछि आएका पर्यटक पनि हर्षित बनेका छन्”, उनले भने, “अहिले गाउँमाथिको पार्कमा हिउँ परिरहेको छ, हिउँ खेल्नका लागि पर्यटक थपिन सक्ने अपेक्षा गरेका छौँ।”
यहाँको पार्कबाट लमजुङ हिमाल, अन्नपूर्ण–२, अन्नपूर्ण–४ का साथै वरिपरिको पहाडी भू–भागको एक साथ दृश्यावलोकन गर्न सकिन्छ। सिक्लेसमा खान–बस्नका लागि स्थानीय बासिन्दाले सञ्चालन गरेका घरबास (होमस्टे) तथा होटल उपलब्ध छन्। सिक्लेससहित कफुचे हिमताल क्षेत्रसम्म गरी २६ वटा होटेल तथा २० वटा होमस्टे सञ्चालनमा आएको गुरुङले जानकारी दिए।
पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेसमा विगतमा पदयात्राबाटै मानिस पुग्ने गरेकोमा अहिले पदयात्राका साथै हिँड्न नसक्ने गाडीबाट पुग्ने गरेका छन्। गाडीबाट काँहुखोला, ढाडबेँसी, काभ्रेखोला, छाचोक, मेल्चो, थाक, तप्राङ, चिप्ली, पार्चे हुँदै सिक्लेस पुग्न सकिन्छ। यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ।