काठमाडौँ - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा विभेद र उत्पीडनमा परेको समुदायको हकअधिकार सुनिश्चित हुनुपर्ने बताएका छन्। जनता समाजवादी पार्टी सप्तरीद्वारा राजविराजमा आज आयोजित कार्यक्रममा उनले नेपाली जनतालाई हरेक समस्याबाट निकास दिन जसपा पार्टी नै रहेको दाबी गरे।
देशमा विकास तथा सुशासन कायम गर्न र राज्यमा रहेको सबैखाले विभेदको अन्त्यका लागि तिनै तहको सरकारको नेतृत्व जसपाले लिनुपर्ने उनले बताए। देशमा विद्यमान अवस्थामा रहेको बेरोजगारी, प्रतिनिधित्व र नागरिकतालगायत समस्या समाधानको अभिभारा जनता समाजवादी पार्टीको काँधमा आएको बताउँदै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट पार्टी जनताको समस्यालाई समाधान गर्ने दिशामा असफल सावित भइसकेको बताए।
उनले मुलुकमा मधेसी, आदिवासी जनजाति, मुस्लिम, दलित, महिलालगायतका समुदायलाई शासन र प्रशासनमा सम्मानजनक प्रतिनिधित्व गराउँदै बेरोजगारी र नागरिकताको समस्या समाधान हुनुपर्ने जोड दिए। अध्यक्ष यादवले अगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई उपयोग गरी अगाडि बढ्नुपर्ने भन्दै जिल्लाका नेताहरूको योग्यता र क्षमता प्रदर्शन गर्ने बेला आएको बताए। साथै स्थानीय तहको निर्वाचनमा जिल्लाका नेताका योग्यता र क्षमता प्रष्टफुटित हुने उनले बताए।