काठमाडाैं । वैदिक दर्शनहरुमा भौतिकवादी दृष्टिकोणको समिश्रण कत्तिको पाईन्छ भन्ने कुरामा द्वन्द्ववादी आयामबाट खोज्ने अध्येताहरुले प्रसस्त प्रकाश पार्ने गरेका छन् । समाजको ऐतिहासिक विकासक्रममा समतामुलक समाजको परिकल्पना हुँदै गर्दा वैदिक कालमा नै त्यसको अवस्थितिको पनि खोजी गरिने गरेको छ ।
कार्लमार्क्सले भन्नुभएको छ, 'उत्पादनसँगैको चेतनशील प्रयत्नबाट समाज विकसित बन्दै आएको छ । अहिले वैज्ञानिक समाजवादको कुरा गरिरहँदा, हाम्रै वैदिक दर्शन शास्त्रले समेत समानतालाई आत्मसात गर्ने र लागु गर्न गरेको प्रयत्नलाई बिर्सन मिल्दैन ।
वैदिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलनात्मक अध्ययन पुस्तकको विमर्श कार्यक्रममा बोल्दै प्राज्ञ एवं पुस्तकका लेखक गोपीरमण उपाध्यायले वैदिक कालका दर्शन शास्त्रहरुले समानताको वकालत गर्दै त्यसतर्फ प्रेरित गरेको पाइनु साम्यवादको परिकल्पना भएको बताएका छन्। जसलाई बुझ्न भौतिकवादी दृष्टिकोण आवश्यक भएको बताउन्दै पूर्वीय वाङमयलाई भौतिकवादी आयामबाट हेर्ने श्रृङ्खलामा अन्तिम पुस्तकका रुपमा यस पुस्तकलाई थप्न पाउँदा खुशी लागेको बताए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत प्रसाद उपाध्यायले वैदिक पूर्वीय वाङमयमा चेतना र पदार्थको विकासक्रम र अन्तरसम्बन्धका बारेमा प्रशस्त विचारहरु भएपनि त्यसलाई लिपीवद्ध नगरिएकोमा प्रज्ञा प्रतिष्ठानले त्यसलाई लिपीवद्ध गर्न पुस्तक प्रकाशित गरेको बताए ।
कार्यक्रममा बोल्दै नेता प्रदीप ज्ञवालीले वैदिक कालमा दर्शन शास्त्रहरुले पदार्थ, प्रकृति र त्यसको प्रयोगका सम्बन्धमा भौतिकवादी तवरबाट गरिएको व्याख्यालाई पछिल्लो धर्मका रुपमा विकसित गरिनुले त्यसको खोजी कार्य बढी हुन नसकेको बताए।
पुस्तक माथिको विमर्श कार्यक्रममा टेलिभिजनका नायव महाप्रबन्धक अशेष घिमिरे नेताहरु प्रमेश हमाल, समिर सिंह, रमेश भट्टराई लगाएतका नेताहरुको उपस्थिति थियो ।