काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशव्यापी आन्दोलन गर्दै छ । आजदेखि काठमाडौंसहित ७४ जिल्लामै प्रदर्शन गर्ने तयारी राप्रपाले गरेको हो ।
बुधबार काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई मागपत्र पेस गर्ने तयारी राप्रपाको छ । राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहलगायत जनजीविकासँग सम्बन्धित माग राखेर फागुन ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले गत पुस ३ गते केन्द्रीय समितिबाट आन्दोलनमा जाने निर्णय गरेको थियो । राजसंस्था, पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र पुनस्र्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाब सिर्जना गर्न बृहत् आन्दोलन गर्ने राप्रपाको निर्णय थियो ।
राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले पार्टीले बुधबारदेखि सुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएको बताएका छन्। मंंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न आग्रह गरे। ‘यो आन्दोलन सामान्य ख्याल ठट्टाको आन्दोलन होइन । यो सरकार परिवर्तन गर्ने, महँगीको विरोध गर्ने, के के विरोध गर्ने होइन । हामीले व्यवस्था र अवस्था परिवर्तन गर्ने आन्दोलन हो । सबैले यसमा सोचेर अघि बढ्नुपर्छ । यो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो । हामी भद्र आन्दोलन गर्ने हो,’ उपाध्यक्ष तामाङले भने। उनले अन्य बेलाको जस्तो सरकार र सत्ता परिवर्तन, महँगी नियन्त्रण जस्तो आन्दोलन नभएको पनि जिकिर गरे ।