काठमाडौँ - भारतीय कमेडियन कपिल शर्माको चर्चित कार्यक्रम 'द कपिल शर्मा शो'को तेस्रो सिजन प्रसारण सुरू भएको छ। सेप्टेम्बर १० शनिबारदेखि कपिलको शोको नयाँ सिजन सोनी टेलिभिजनबाट प्रदर्शन भएको हो।
शोमा पहिलो अतिथिका रूपमा अभिनेता अक्षय कुमार र अभिनेत्री रकुलप्रित सिंह देखिएका थिए। अक्षय र रकुलप्रित आफ्नो ओटिटीमा रिलिज भएको फिल्म 'कठपुतली' को प्रमोसनका लागि पुगेका थिए। शोमा केही पुराना कलाकारसहित नयाँ कलाकार पनि समावेश गरिएको छ। कार्यक्रममा अक्षयले सम्पूर्ण कलाकारको परिचय गराएका थिए।
कपिलले आफ्नो शोको सुरूवात २०१६ मा गरेका थिए। शोको सुरूवातमा होस्ट कपिल शर्मा र उनको टिम किकु शारदा, कृष्णा अभिषेक, सुनील ग्रोवर, सुमोना चक्रवर्ती, चन्दन प्रभाकर, भारती सिंह र अली असगर सामेल थिए।
सुनील ग्रोवर र अली असगरले यसअघि नै शो छाडिसकेका थिए। नयाँ सिजनको पहिलो भागमा कृष्णा अभिषेक र भारती सिंह पनि देखिएका छैनन्। बाँकी कीकु, सुमोना, चन्दनसँगै सृष्टि रोडे, गौरव दूबे, श्रीकान्त मस्की र सिद्धार्थ सागर भने कार्यक्रममा देखिएका छन्।
कृष्णा र भारती शोमा फर्किन्छन् कि फर्किँदैनन् यकिन छैन। भारती अन्य च्यानलको काममा व्यस्त भएकाले नआउने खबर छ। त्यस्तै कृष्णा सोनी च्यानलसँग पारिश्रमिकको कुरा नमिलेकाले शोमा नआउने बताइएको छ।
अक्षय र रकुलको नयाँ फिल्म 'कठपुतली' सेप्टेम्बर २ मा डिज्नी प्लस हटस्टारमा रिलिज भएको हो। तर यो फिल्मले राम्रो प्रतिक्रिया पाउन सकेन।
यसअघि 'रक्षा बन्धन'ले पनि जम्मा करिब ४४ करोड भारू मात्र कमाउन सक्यो। त्योभन्दा अघिको 'पृथ्वीराज चौहान' ले पनि करिब ६८ करोड भारू मात्र कमायो। यो वर्षको उनको पहिलो फिल्म 'बच्चन पाण्डे' पनि असफल फिल्म मानिन्छ जसले जम्मा ५० करोड भारू हाराहारी कमाइ गर्यो।
बलिउडका 'हिट-मेसिन' मानिने अक्षयका लागि यो वर्ष बक्सअफिस दुखद रह्यो भन्दा हुन्छ। चारवटा फिल्म आउँदा चारैवटा असफल भएका छन्।