काठमाडाैँ - अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले चन्द्रगिरी नगरपालिका–१ दहचोकबाट मतदान गरेका छन्। उनले ५ बज्न पाँच मिनेट बाँकी छँदा उक्त मतदान केन्द्रबाट अन्तिम समयमा मत खसालेका हुन्। आफुले विगतदेखि नै अन्तिम समयमा मात्र भोट हाल्दै आएको बताउँदै उनले थपे, ‘सबै दाजुभाईलाई पालो दिएर मात्र भोट हाल्ने गरेको छु।’
कलाकारहरुले चाडै भोट हाल्छन् र लाखापाखा लाग्छ भन्ने नहोस् भन्नका खातिर पनि आफु अन्तिम समयमा भोट हाल्न आएको उनले बताए। उनी भन्दै थिए,‘यतातिर साथीभाईहरु भन्ने गर्छन्, दीपकराज दाईले भोट हालेपछि मतदान प्रक्रिया पुरा हुन्छ।’
कलाकर्मीहरु धमाधम राजनीतिमा प्रवेश गर्दै गर्दा उनी मौन रहे। किन ? उनको जवाफ यस्तो थियो, ‘म झोला बोकेर होइन विचार बोकेर राजनीतिमा प्रवेश गर्नेछु। नेताको झोला बोकेर, मान्छेहरु भेला गरिदिएर, नेताका लागि प्लेटफर्म बनाएर म राजनीतिमा लाग्नेछैन।’
पछिल्लो समय प्रदर्शित उनको फिल्म ‘छ माया छपक्कै’को केन्द्रिय कथा राजनीतिकै सेरोफेरोमा घुमेको थियो। चलचित्रमा उनी एक राजनीतिक कार्यक्रर्ताको रुपमा देखिन्छन्। आफ्नो गाउँ विकासका लागि नेताको झोला बोकेर हिँड्छन्। तर, आफुले जिताएर पठाएका नेताले अपेक्षाकृत विकासका कामहरु गर्दैनन्।
‘छ माया छपक्कैमा जस्तो हाम्रो गाउँमा आधारभूत कुराहरुको त्यती ठूलो समस्या छैन’ उनले सुनाए, ‘यो एउटा ऐतिहासिक थलो भएकाले त्यही अनुसार जनप्रतिनिधिहरुले विकास गर्छ भन्ने अपेक्षा चाहिँ छ।’
त्यसो त उनले आफु राजनीतिक पृष्टभूमीका भएका र सिनेमाका कथाहरुमा अक्सर राजनीति घुसाउने बताउँछन् । ‘म राजनीतिक पृष्टभूमीको मान्छे, त्यसमाथि राजनीतिशास्त्रका विद्यार्थी पनि’ दीपकराज भन्छन्, ‘त्यसैले मेरो फिल्ममा कहीँ कतै राजनीति मिसिएको हुन्छ।’