काठमाडौं । शुक्रवार काठमाडौँबाट पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा तथा अखिल क्रान्तिकारीका नेता दीपेश पुनलाई रुपन्देही पठाइएको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका उनीविरुद्ध रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दा पनि रहेकाले त्यसतर्फ शुक्रवार साँझै पठाइएको प्रहरीले जनाएको छ । उनलाई जहाजमार्फत भैरहवा पठाएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
उनी शुक्रबारै राजधानीको टोखाबाट पक्राउ परेका थिए ।
बुटवलका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा दिपेश जोडिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेको उजुरी प्रहरीमा छ ।
सुन तस्करीबारे अनुसन्धान गर्दा सहकारी ठगीमा पनि यसअघि नै वारेन्ट जारी भएकाले यहाँ ल्याइएको आंकलन गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले सुप्रिम सहकारीका वचतकर्ताले सबा १ अर्ब रकम अपचलन गरेको मुद्दाको विषयमा अनुसन्धान गर्न पुनलाई बुटवल लगिएको हो ।