काठमाडौं - आज विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । दिउँसो साढे १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।
बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भए बमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुन कार्यसूची रहेको छ ।
यस्तै, अहिले बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरूका सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक मध्यान्ह १२ बजे बस्दैछ । बैठकमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको वर्तमान अवस्था र अनुगमन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहान ११ बजे बस्ने बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुने सूची रहेको छ । मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ ।