काठमाडौँ- बलिउडका मिस्टर परफेक्शनिस्ट भनेर परिचित अभिनेता आमिर खानकी छोरी आइरा खान मनोरन्जन क्षेत्रबाट टाढा छिन्। यद्यपि, उनी प्रायः चर्चामा रहिरहन्छिन्। आइरा सामाजिक सन्जालमा पनि उत्तिकै सक्रिय हुन्छिन्।
भखर्रै आइराले आफु मानसिक समस्या अर्थात एन्जाइटीबाट पीडित भएको खुलाएकी छिन्। आइराको उक्त पोस्टले उनका प्रशंसकहरु आश्चर्यमा परेका थिए। आइराले नो मेकअप लुकमा मिरर सेल्फी शेयर गर्दै उक्त कुराको जानकारी दिएकी हुन्।
आइरा लेख्छिन्– ‘मलाई एन्जाइटी अट्याक्स आउन थालेको छ। मलाई धेरै छटपट हुन्छ। कहिलेकाहिँ म त्यसै रुन थाल्छु। प्यानिक अट्याक के हो भन्ने थाहा छैन। मैले बुझे अनुसार यो रोगको कारणले देखिने शारीरिक लक्षणहरुमा मुटुको ढुकढुकी बढ्नु, स्वाँ–स्वाँ हुनु, रुनु आदि हुन्। विस्तारै–विस्तारै यी लक्षणहरु बढ्दै जान्छन्। केही भयानक हुन्छ जस्तो लाग्छ। त्यतिबेला अति नै डरलाग्दो महसुस हुन्छ। म सुत्न चाहन्छु, तर एन्जाइटी अट्याकका कारण म सुत्न सक्दिन। अब म डरलाई चिन्ने कोशिश गर्न थालेको छु। तर जब यो डर उत्पन्न हुन्छ, रोकिने नाम नै लिँदैन।’
आइरा लामो समयदेखि फिटनेस ट्रेनर नुपुर शिखरसंग प्रेम सम्बन्धमा रहेकी छिन्। उनले आफुलाई गाह्रो भएको समयमा नुपुरसंग कुरा गर्दा केही समय राहत हुने पनि बताएकी छिन्।