काठमाडौँ - छायाँछवि क्रियसनले नियमित रुपमा आयोजना गर्दै आइरहेको छोटा चलचित्रहरुको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा-०२२’ छैठौं संस्करणका लागि आवेदन खुलेको छ। यो फेस्टाका लागि २०७९ असार २६ गतेसम्म फिल्म दर्ता गर्न छायाँछविले सूचना जारी गरेको छ। ‘काठमाडौं सर्ट फिल्म फेस्टा-०२२’ मा छोटा चलचित्र एवं छोटा वृत्तचित्रले मात्रै भाग लिन पाउने छन्।
छोटा चलचित्र एवं छोटा वृत्तचित्रको अवधि २ मिनट देखि ५९ मिनट भित्रको हुनुपर्नेछ। नेपालमा पछिल्लो समय छोटा चलचित्र एवं वृत्तचित्रको निर्माण बढेको छ। छोटा चलचित्र एवं बृत्तचित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण हुन थालेका छन्। यस्ता चलचित्र एवं वृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पुर्याउन र अझै गुणस्तरयुक्त निर्माणमा सघाउ पुराउन फेस्टा आयोजना गररिहेको फेस्टा एवं छायाँछविका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
नेपाली छोटा वृत्तचित्र एवं चलचित्रले अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड प्राप्त गर्ने क्रम बढेको छ। त्यस्ता वृत्तचित्रलाई स्वदेशमा समेत प्रोत्साहन गरिन पर्छ भन्ने पनि फेस्टाको उद्येश्य रहेको छ।
फेस्टामा सहभागी चलचित्रलाई बेस्ट सर्ट फिल्म (फिक्सन), बेस्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, बेस्ट सर्ट फिल्म (डकुमेन्ट्री), बेस्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, बेस्ट कन्सेट-स्कृप्ट, बेस्ट बायोपिक डकुमेन्ट्री, जुरी अवाड, पब्लिक च्वाईस अवार्ड, बेस्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्ड आदि विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।
यी मध्ये बेस्ट सर्ट फिल्म (फिक्सन) र बेस्ट सर्ट फिल्म (डकुमेन्ट्री)लाई क्रमशः ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ।