एजेन्सी। बलिउड अभिनेता कार्तिक आर्यन पुन: एकपटक विवादमा मुछिएका छन्। केही समयअघि कार्तिक निर्माता करण जोहरसँगको विवादमा परेका थिए। करणले अब कार्तिकसँग काम नगर्ने निर्णय समेत लिएका छन्।
त्यसैगरि अर्का एक निर्माताले पनि कार्तिकलाई अव्यावसायिकको ट्याग लगाईदिएका छन्। कार्तिक दक्षिण भारतीय चलचित्र ‘अला वैकुण्ठपुरमलो’को हिन्दी रिमेक ‘शहजादा’मा काम गर्ने भएका छन्।
यसैबिच चलचित्रका निर्माता मनिष शाहले कार्तिकले चलचित्र छाड्ने धम्की दिएको बताएका छन् । भारतीय सञ्चारमाध्यमसँग कुरा गर्ने क्रममा उनले कार्तिक आर्यनलाई ‘अव्यावसायिक’को ट्याग भिडाएका छन्।
दक्षिण भारतीय कलाकार अल्लु अर्जुनको चलचित्र ‘अला वैकुण्ठपुरमलो’को हिन्दी भर्सन जनवरी २६ तारिखबाट प्रदर्शनमा ल्याउने तयारी गरिएको थियो।तर, चलचित्रको हिन्दी भर्सनमा प्रदर्शनमा आए आर्यनले चलचित्र नै छाडिदिने धम्की निर्माण पक्षलाई दिए। कार्तिकले चलचित्र छाडेको खण्डमा ‘शहजादा’का निर्मातालाई ४० करोड घाटा लाग्ने निश्चय थियो। त्यसैले निर्माता मनिष शाहले कार्तिकलाई अव्यावसायिक भनेका हुन्।
उता ‘शहजादा’का निर्माता पनि ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भर्सनमा प्रदर्शनमा आए रिमेकलाई व्यावसायिक रुपमा घाटा लाग्ने भयमा थिए। भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको हिन्दी भर्सन सिनेमाघरमा प्रदर्शनमा आउन नपाउँदा मनिष शाह र उनको समुहलाई करिब २० करोड घाटा लागेको छ।