काठमाडौँ - १५ वर्षीय नेपाली युवा खेलाडी शाश्वत रानाले युरोपियन च्याम्पियन्स लिग खेल्ने एफसी कोपेनहेगन क्लबसँग सम्झौता गरेका छन्।
कोपेनहेगन क्लबबाट रानाले यू-१७ र १९ को लागि सम्झौता गरेका हुन्। यो सम्झौता सन् २०२२ देखि २०२५ सम्म रहेको छ। क्लबका डेभलपमेन्ट डाइरेक्टर स्मिथ निल्सनका अनुसार रानाले कोपेनहेगनको यू-१९ सिनियर टोलीबाट खेलाउन सम्झौता गरेका हुन्।
केही महिनाअघि रानाले नेपालको यू-२० साफ च्याम्पियनसिप टोलीको क्लोज क्पाम्पमा छनोट भएका थिए। यद्यपि, उनले यू-२० टोलीको बन्द प्रशिक्षणमा पूरा समय बिताएनन्। डेनमार्कमा जन्मिएका रानाले ६ वर्षदेखि नै फुटबल खेल्न थालेका हुन्। सानै उमेरमा उनले हेल्परदेखि बोल्ड क्लबसम्म खेल्ने अवसर पाएका थिए।
त्यसपछि १४ वर्षको उमेरमा उनले कोपेनहेगनको युवा टोलीबाट विश्वप्रसिद्ध क्लबहरू लिभरपुल, चेल्सी, आरबी लेप्जिङ, पिएसभी, वेस्ट हाम तथा बायर्न म्युनिसविरुद्ध प्रतिस्पर्धा गरिरहेका छन्। लेफ्ट ब्याक खेलाडी रानाले मौका पाउँदा नेपाली टोलीबाट खेल्ने जनाएका छन्।