काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीको बर्खास्तीमा परेका ढाकाकुमार श्रेष्ठले पत्रकार सम्मेलनकै क्रममा दुईथरी कुरा गरेका छन्। एकातिर उनले आफ्नो अडियो नक्कली भएको बताउँदै थिए भने अर्का तिर जनावरी/फेब्रुअरीमा भएको अडियो कुराकानी अहिले ल्याएर हालिएको बताएका छन्।
‘यो अडियो खासगरी अहिले जसले पनि जहाँपनि र जसरी पनि बनाउन सकिने एउटा मिडिया हो। इडिटिङ गर्न सकिन्छ। मेरो अहिले बोलेको भ्वाइस फेरि अर्को तरिकाले मोडेर पनि, इडिटिङ गराएर पनि बाहिर ल्याउन सकिन्छ। यो अडियो खास अथेन्टिक होइन। ह्वाट्स एपमा कुरा गरेको भनिएको छ। मेरा कुराहरु कहाँकहाँबाट जोडिएर अहिले यसरी मिडयामा आएको छ। यो प्रति म खेद प्रकट गर्न चाहन्छु’, पत्रकार सम्मेलनमा आफूलाई निर्दोष देखाउने प्रयास गर्दै श्रेष्ठले भने।
तर, उनले बोल्दैजाँदा जनावरी/फेब्रुअरीको अडियो चुनावको मुखमा ल्याइएको भन्दै आफ्नै प्रष्टीकरणलाई खण्डन गर्ने काम गरे। उनले भने, ‘यो अडियो केही पनि होइन। यो फसाइएको हो। सुनियोजित हो। जनवरी फेब्रुअरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको एउटा सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गरेको हो।’