काठमाडौँ - बलिउडका महानायक अमिताभ बच्चन फेरि कोरोना भाइरसको चपेटामा परेका छन्। यो जानकारी अभिनेता आफैले ट्विट गरेका छन्।
यस क्रममा उनले पछिल्लो केही दिनमा अभिनेतालाई भेटेका मानिसहरूलाई आफ्नो कोविड परीक्षण गराउन आग्रह गरेका छन्। तर, अभिनेता बाहेक उनको परिवारका अन्य सदस्यमा कोरोना संक्रमण देखिएको छैन।
अमिताभ बच्चनले आफ्नो ट्विटमा लेखेका छन्, ‘मैले भर्खरै कोभिड पोजिटिभ टेस्ट गरेको छु। मेरो वरिपरि रहेका सबै मानिसहरू सबैले आफैलाई परीक्षण गराउनुहोस्।'
यसअघि सन् २०२० मा अमिताभ बच्चनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो। यसै क्रममा अभिनेतालाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको थियो।
अमिताभ बच्चन हाल कौन बनेगा करोडपतिको नयाँ सिजनमा व्यस्त छन्। त्यस्तै फिल्ममा हालै प्रदर्शन भएको अजय देवगनको अपोजिट फिल्म ‘रनवे ३४’ मा देखिएका उनी अब फिल्म ‘ब्रह्मास्त्र’ मा देखिनेछन्। अयान मुखर्जीले निर्देशन गरेको यो फिल्म सेप्टेम्बर ९ मा रिलिज हुँदैछ।