काठमाडौँ - मिलन चाम्सले निर्देशन गर्ने फिल्म 'वर एन्ड बधू'को औपचारिक निर्माण घोषणा गरिएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो। निर्देशक चाम्सले फिल्म नेपाली र हिन्दी भाषामा बन्ने बताएका छन्।
‘नेपाली फिल्मलाई कसरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकिन्छ भनेर रातदिन यही चिन्ताले सताइरहन्छ। हामीले यो फिल्म केही फरक तरिकाले बनाउने प्रयास गरेका छौं,’ उनले भने। कमेडी र प्रेम कथामा निर्माण हुने फिल्ममा अभिनेत्री आँचल शर्मा र अभिनेता विवेक कर्मचार्यको मुख्य भुमिका रहनेछ। विवेकले यही फिल्मबाट डेब्यू गर्दैछन्।
फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, मनोज केसी, बुद्धि तामाङ, सृष्टि खड्का, रविना केसीलगायत कलाकारको अभिनय रहनेछ।
जेठको अन्तिमबाट छायांकनमा जाने फिल्म रोमानिया, इटली, फ्रान्स र नेपालमा खिचिने छ। फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। सुदीप बरालले छायांकन गर्ने फिल्मलाई अर्जुन जिसीले सम्पादन गर्नेछन्।
एलआरके इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र युग भुषालको संगीत, नरेश भट्टराई, मुक्त उदास र लेखु सहयात्रीको शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी रहनेछ। फिल्मको गीतमा राजेश पायल राई, दीपक लिम्बु, अन्जु पन्त, मेलिना राई, प्रविशा अधिकारी, प्रताप दासको स्वर रहनेछ।