काठमाडौँ - खेलकुदको प्रवद्र्धन तथा खेलाडीमा खेल प्रतिभाको खोजी गर्ने उद्देश्यले बागमती प्रदेश खेलकुद विकास परिषद्द्वारा प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता यही फागुन २८ देखि चैत १२ गतेसम्म सञ्चालन हुने भएको छ।
हेटौँडा उपमहानगरपालिकाको वडा नं ५ स्थित क्याम्पाचौरमा सो खेलकुद प्रतियोगिताको मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ। परिषद्वारा आज दिइएको जानकारीअनुसार प्रतियोगिताका खेल मकवानपुरसहित पाँच जिल्लामा हुने बताइएको छ। मकवानपुरमा पुरुष फुटबल, ब्याडमिन्टन र तेक्वान्दो प्रतियोगिता हुने बताइएको छ। फुटबल र ब्याडमिन्टन प्रतियोगिता फागुन २९ गते र तेक्वान्दो प्रतियोगिता चैत ६ गते हुनेछ। चितवनमा फागुन ३० गतेदेखि भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ। सिन्धुपाल्चोकमा चैत ७ गतेदेखि कराते प्रतियोगिता हुनेछ।
त्यसैगरी, काठमाडौँमा चैत ६ गतेदेखि एथलेटिक्स खेल प्रतियोगिता हुने सो परिषद्ले जनाएको छ। साथै, काभ्रेपलाञ्चोकमा चैत ७ गतेदेखि महिला फुटबल र चैत ९ गतेदेखि बक्सिङ प्रतियोगिता सुरु हुने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए। अहिले प्रदेशका सबै जिल्लमा जिल्लास्तरीय छनोट प्रतियोगिता भइरहेका उनको भनाइ छ।
प्रतियोगितामा एक हजार २०० भन्दाबढी पुरुष र ९०० भन्दाबढी महिला खेलाडीको सहभागिता रहने अनुमान परिषद्को रहेको छ ।