काठमाडौँ - युइएफए च्याम्पियन्स लिगको आफ्नो अन्तिम खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित हात पारेको छ। उसले गएराति समूह ‘जी’ अन्तर्गतको खेलमा स्पेनको सेभियाविरुद्ध ३-१ को जित हात पारेको हो।
घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई जित दिलाउन रिको लुईस, जुलियन अल्भारेज र रियाद महारेजले १/१ गोल गर्दा सेभियाका लागि राफा मिरले १ गोल गरेका थिए। खेलमा सुरूवाती अग्रता भने पाहुना टोलीले लिएको थियो। ३१ औं मिनेटमा मिरले गोल गर्दा सेभिया १-० ले अघि बढ्य । ५२ औं मिनेटमा लुईसले सिटीलाई १–१ को बराबरीमा ल्याए।
७३ औं मिनेटमा अल्भारेज तथा ८३ औं मिनेटमा महारेजले गोल गरेपछि सिटीले ३–१ को सहज जित निकाल्यो। यो जितसँगै ६ खेलमा १४ अंक जोडेको सिटी शीर्ष स्थानमा रहँदा पराजित सेभियाले समान खेलबाट % अंकका साथ तेस्रो स्थानमा रहँदै युरोपा लिग पक्का गरेको छ।