गाउँलेको कपडा र जुत्ता मागेर अभिनय गरेंः स्वस्तिमा खड्का

काठमाडौँ - अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रमा आफुलाई वास्तविक चरित्रमा उतार्न स्थानीय गाउँलेहरूकै कपडा, जुत्ता तथा गरगहना मागेर लगाएको बताएकी छिन्। उनले चलचित्र चिसो मान्छेमा बाजुराको एउटा विकट गाउँको महिलाको भूमिका निर्वाह गरेकी छिन्।

यो चलचित्रमा आफूले स्थानीय महिलाको भूमिका निर्वाह गर्न कपडा र जुत्ता खोज्न निकै मेहनत गर्नुपरेको अभिनेत्री स्वस्तिमाले बताएकी छिन्, ‘बाजुरमा लगाउने कपडा स्थानीय व्यक्तिहरूले सिउने भएकाले त्यहाँ लगाउने शैलीको कपडा काठमाडौंमा पाइँदैन थियो। सोही कारण मैले यो फिल्मका लागि आवश्यक कपडा बाजुराकै गाउँले दिदीबहिनीसँग मागेर लगाएँ।’ निकै पसिना गनाएको केही कपडा नधोई लगाउँदा आफुलाई एलर्जी भएको पीडा सुनाउँदै उनले भनिन्, ‘सुरुको दिनमा उहाँहरूको कपडा जस्ताको जस्तै लगाउँदा शरीरभरि खटिरा आयो। त्यसपछि मैले उहाँहरूको कपडा धोएर चलचित्रको छायांकनमा प्रयोग गरें।’

यो चलचित्रमा आफूलाई सबैभन्दा गाह्रो जुत्ताका लागि भएको पनि उनले बताइन्। यो चलचित्रमा उनले खैरो रङको गोल्ड स्टारको जुत्ता लगाउनुपर्ने थियो। त्यो जुत्ता त्यहाँका कुनै पनि पसलमा नपाएपछि आफुले गाउँले महिलासँग मागेर लगाएको बताउँदै उनले भनिन्, ‘एक जोर जुत्ताका लागि दुईवटा गाउँ घुम्नपर्यो। आफूले खोजेको जस्तो केही पुरानो जुत्ता अर्को गाउँमा एक जना महिलासँग भेटेपछि छायांकन अवधिभरि त्यही जुत्ता प्रयोग गरें।’

कतारमा मृत्यु भएका आफ्नो श्रीमानको शवलाई काठमाडौँबाट बाजुरासम्म ल्याउन आफूले गरेको संघर्ष र पीडा यो चलचित्रमा रहेको पनि स्वस्तिमाले बताइन्, ‘चलचित्र चिसो मान्छेमा चिसो मान्छेका रूपमा मेरो श्रीमानको चरित्र रहेको छ। मृत्यु भएको श्रीमानको शव लिएर गाडीमा लामो यात्रा गर्दाका पीडा र मनोविज्ञानलाई मैले आफ्नो चरित्रमार्फत प्रस्तुत गरेको छु।’

यो चलचित्रमा काम गर्दा आफुले कर्णाली प्रदेशका महिलाहरूको जीवनशैलीलाई नाजिकबाट बुझ्ने अवसर पाएको पनि अभिनेत्री स्वस्तिमाले बताएकी छिन्, ‘हामीले काठमाडौंबाट हेरेको त्यहाँका महिलाहरूको जीवन शैलीभन्दा त्यहीँ पुगेर भोगेको जीवन शैली निकै फरक पाएँ।’

बाजुराको महिलाको भूमिका चलचित्र चिसो मान्छेमा निर्वाह गर्न त्यहाँको भाषा सिकेको उनीसँग अनुभव छ, ‘काठमाडौंमा केही दिन बाजुराको भाषा सम्बन्धित विज्ञसँग सिकेपछि फेरि छायांकनका क्रममा बाजुरा पुगेर त्यहाँको भाषा केही दिन सिकें। त्यसपछि बाजुराली महिलाका रूपमा चलचित्रमा प्रस्तुत भएकी हुँ।’उनले भनिन्।

अभिनेत्री स्वस्तिमाले आफुलाई सकेसम्म बाजुराकै महिला नै देखियोस् भनेर लवजदेखि भाषामा समेत त्यत्तिकै मेहनत गरेको बताइन्। बुलबुलबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी स्वस्तिमालाई यसपटक चलचित्र चिसो मान्छेको यो भूमिकाबाट पनि अवार्डसम्म जित्ने आशा छ। 

‘चिसो मान्छे’ असार ३ बाट देशव्यापी रूपमा प्रदर्शन हुँदै छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×