काठमाडौँ - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नागरिक उड्डयन प्राधिकरणविरुद्ध रिट दायर गरेका छन्।
प्राधिकरणले स्पष्टीकरण सोधेको सातौँ दिन मेयर बालेन प्राधिकरणविरुद्ध रिट लिएर उच्च अदालत पाटन गएका हुन्। प्राधिकरणले सोधेको सात दिने स्पष्टीकरणमा सातौँ दिन नै उनी रिट लिएर जवाफको साटो अदालत गएका हुन्।
प्राधिकरणले सोधेको स्पष्टीकरण संविधानअनुकूल नभएको दाबीसहित स्पष्टीकरण बदर गर्न बालेनको माग छ।
काठमाडौंको सिनामंगलमा प्राधिकरणले नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाडौं महानगरले ३२ जेठमा काम रोकिदिएको थियो। त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार पनि काटिदिएको थियो।
त्यसको भोलिपल्ट प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक उड्डयन ऐनअनुसार किन करबाही नगर्ने भन्दै सातदिने स्पष्टीकरण सोधेको थियो।