काठमाडौँ - ख्यातिप्राप्त गीतकार, संगीतकार तथा गायक शम्भुजित बास्कोटा अमेरिकामा सम्मानित भएका छन्। बासकोटा नेपाली कलाकारको अन्तराष्ट्रिय सञ्जाल इनास अमेरिका र बानाले मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा आयोजना गरेको कार्यक्रममा सम्मानित भएका हुन्।
समारोहमा इनास अमेरिकाका अध्यक्ष गायक कन्हैया सिंह, बानाका अध्यक्ष सुवोध बिलास पन्त, लोक गायक प्रेमराजा महतलगायतले संयुक्त रूपमा बास्कोटालाई सम्मान गरेका थिए।
समारोहमा इनास अमेरिकाका अध्यक्ष कन्हैया सिंहले बास्कोटाको कोरेको बाटोमा आफू हिँडिरहेको बताएका छन्। त्यसैगरी, लोकगायक प्रेमराजा महतले फिल्मदेखि सुगम संगीतको क्षेत्रमा समेत बासकोटाको अतुलनीय योगदान रहेको चर्चा गरेका थिए।
त्यस्तै, सम्मानित संगीतकार बासकोटाले अमेरिकी सहरमा पाएको मायाले आफुलाई यो क्षेत्रमा अझै केही गर्ने ऊर्जा मिलेको बताएका छन्। कार्यक्रममा बास्कोटाले आफ्नो लोकप्रिय गीत गाएर सुनाएका थिए।