काठमाडौँ - युइएफए नेसन्स लिगमा साविक विजेता फ्रान्स डेनमार्कसँग स्तब्ध बनेको छ। फ्रान्स घरेलु टोली डेनमार्कसँग २-० ले स्तब्ध बनेको हो।
पार्केनमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा कास्पर डोलवर्ग र एन्ड्रिएस स्कोभ ओल्सेनले गोल गरेका थिए। खेलको ३४औं मिनेटमा कास्पर डोलवर्गले गोल गर्दै डेनमार्कलाई १-० को अग्रता दिलाए। उनले मिकेल ड्याम्सगार्डको पासमा गोल गर्न सफल भएका थिए।
३९औं मिनेटमा एन्ड्रिएस स्कोभ ओल्सेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे। उनले थोमस डिलानेको पासलाई सदुपयोग गरेका थिए। खेलमा पछि परेको फ्रान्सले खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो।
यो नतिजासँगै डेनमार्क लिग ए ग्रुप १ मा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। पराजित फ्रान्स ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
अष्ट्रियालाई ३-१ ले हराएर क्रोएसिया १३ अंक जोड्दै शीर्षस्थानमा रहेर फाइनल फोरमा प्रवेश गरेको छ। ४ अंक जोडेर पुछारमा रहेको अष्ट्रिया रेलिगेसनमा परेको छ।