काठमाडौँ - तेक्वान्दो खेलाडी लक्ष्मण बहादुर ऐरले अमेरिकाको मिचिगन राज्यमा सम्पन्न १३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन्।
गत शुक्रबार भएको प्रतियोगिताको पुरुष ४१–५० वर्षको एकल पुम्सेमा ६.९ अंकका साथ लक्ष्मण दोस्रो भएका हुन्। आठ देशका ३ सय जनाभन्दा बढी रहेको उक्त प्रतिस्पर्धामा अमेरिकन रोन सुथविक ७.१ अंक जोड्दै पहिलो भएका थिए। अर्का नेपाली खेलाडी दिपक रानाले ६.१ अंक जोड्दै तेस्रो भए।
स्वदेशमा हुँदा कोरोना महामारीका समयमा आयोजना भएका थुप्रै अनलाइन पुम्से प्रतियोगितामा लक्ष्मणले भाग लिदै पदक जितेका थिए। गत साता सम्पन्न प्रतियोगितामा भाग लिदा आफ्नो प्रदर्शनमा निकै सुधार आएको लक्ष्मणले बताएका छन्।