बारा - नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन्। मावली हजुरबुवावाट वंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित ३ जनालाई पक्राउ गरिएको हो।
वडा अध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। उनका अनुसार कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन्।
रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएको खुले पछि उनीहरू पक्राउ परेका हुन्।
गोप्य उजुरीको आधारमा उनीहरू पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए।