काठमाडौँ - चर्चित ब्यान्ड नेपथ्यको टोली ‘मानवताका लागि सांगीतिक यात्रा’को क्रममा हेटौँडा आइपुगेको छ। बिहीबार हेटौँडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी स्कुलको प्रांगणमा हुने लाइभ कन्सर्टका लागि टोली हेटौँडा आइपुगेको हो।
टोलीमा नेपथ्यका मुख्यगायक अमृत गुरुङसहित अन्य सदस्य छन्। यात्राको क्रममा बुधबार वीरगन्जमा सांगीतिक कार्यक्रम भएको थियो।
नेपथ्यको प्राविधिक टोलीले स्टेज निर्माण थालिसकेको र आवश्यक अन्य तयारीलाई पनि भइरहेको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिएका छन्। ‘अन्य धेरै कार्यक्रमहरू पैसा तिरेर मनोरञ्जन मात्रै लिने भए पनि यसपटक मानवीय सेवा गर्न पाउने अवसर जुरेको छ। कार्यक्रममा सहभागी भइदिन म सम्पूर्ण हेटौँडावासीलाई आग्रह गर्छु,’ उनले भने।
मानवता प्रवर्द्धनसँगै हेटौँडा-९ लामसुरेधापमा रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण र आश्रित बेसहाराहरूको संरक्षण र पालनपोषणको सहयोगार्थ कार्यक्रम गर्न लागिएको अध्यक्ष अधिकारीले बताएका छन्।
मानवता प्रवर्द्धनका लागि नेपथ्यले नेपालका प्रमुख १० सहरमा कन्सर्ट आयोजना गरिरहेको छ। १६ मंसिरमा विराटनगर र १९ मंसिरमा वीरगन्जमा सम्पन्न भइसकेका छन्।
मानवसेवा आश्रमको मुख्य कार्यालयमा अहिले मुख्य भवन र लक्ष्मीभवन निर्माण सम्पन्न भए पनि बालबालिका आवास, बालबगैँचा, गाईगोठलगायतका कार्यहरू निर्माणको चरणमा रहेको छ। आश्रमको मुख्य कार्यालयमा १८ बालक, ३ बालिका, ९४ पुरुष र ७७ जना महिला गरी १ सय ९२ व्यक्ति आश्रित छन्।