बाँके - बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा नरेन्द्र चौधरी ‘पप्पु’ ले छ हजार २७२ र उपाध्यक्षमा नेपाली कांग्रेसकी साहिदा बानोले पाँच हजार ८८४ मत ल्याएर निर्वाचित भएको डुडुवा गाउँपालिकाका निर्वाचन अधिकृत फटिकराज मुडवरीले जानकारी दिए। चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का भण्डारीलाल यादवले पाँच हजार १२५ मत पाउँदा एमालेका उम्मेदवारले तीन हजार ७१९ मत पाए। उपाध्यक्षमा कांग्रेसका साहिदा बानोले निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसापा)की तरन्नुम बानोले चार हजार ७५४ मत पाउँदा एमालेका उम्मेदवारले चार हजार १५८ मत पाए।
छवटा वडा रहेको सो गाउँपालिकामा एक वडा कांग्रेस, तीन वडा जसपा र दुई वडा एमालेले जितेको छ। यसअघि राप्ती सोनारी गाउँपालिका पनि कांग्रेसले जितेको थियो। बाँकेका ८१ वडामध्ये अहिलेसम्म ३३ वडाको मत परिणाम सार्वजनिक भएको छ। तीमध्ये एमालेले नौ, नेकपा (माओवादी केन्द्र)ले नौ, कांग्रेसले आठ, जसपाले पाँच र राप्रपाले दुई वडा जितेको छ।