काठमाडौँ - जुम्लाका महिला उद्यमीको सहजका लागि जिल्लास्थित पशु सेवा कार्यालयले अनुदानमा ट्याङ्कर उपलब्ध गराएको छ।
कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्याङ्कर उपलब्ध गराएपछि अब दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको छ। एक हजार लिटरसम्म दूध बोक्नसक्ने क्षमताको ट्याङ्कर उपलब्ध गराइएको हो। दुग्ध ट्याङ्करले यहाँको दूध उत्पादन बढाउन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। रु. ३२ लाख ९५ हजार मूल्यको ट्याङ्कर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएपछि किसान निकै उत्साहित भएका छन्।
सञ्चालक धितालले भनिन्, “अब किसानले दूध बोकेर बजारसम्म दूध पुर्याउन दुःख गर्नुपर्दैन। मगाएको खण्डमा घरदैलोमै दूध सङ्कलन गरेर बजारसम्म ल्याउन ट्याङ्कर तयारी अवस्थामा छ।' अहिले नाग्म, कुडारी, लाम्रा गाउँ र बजार क्षेत्रका दूध ट्याङ्करबाट डेरीमा सहजै दूध पुर्याउने काम भइरहेको छ। सदरमुकाम खलङ्गाभित्र र बाहिरका नौवटा डेरीमा दूध पुग्ने गरेको उनको भनाइ छ।
ट्याङ्कर पुगेपछि अहिले १० जनाले रोजगारी पाएका छन्। एक महिनामा झन्डै रु. छ लाख बराबरको दूध बिक्री हुने गरेको हिमाली डेरी उद्योगले जनाएको छ। कार्यालय प्रमुख गोविन्द महतका अनुसार पछिल्लो समय किसान दूध उत्पादनमा हौसिएका छन्। ट्याङ्कर खरिद जुम्लाका लागि नयाँ कार्यक्रम भएको र यसबाट दूध उत्पादक किसान र डेरीसँगको समन्वय निकै प्रगाढ बनाउने छ। दूध बिक्री भएन भन्ने किसानको गुनासो आउनेछैन।
सदरमुकाम खलङ्गामा पाँचवटा डेरी उद्योग सञ्चालनमा छन्। बजार विस्तार भएसँगै दूधको माग पनि अत्यधिक हुने गरेको यहाँका डेरी उद्योगका सञ्चालकले बताए।