‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’

गुल्मी - पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ। २२÷२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन्। नेपालमा सम्भावना नभएको भन्दै युरोपेली र खाडी मुलुकमा जाने युवायुवतीको लर्को लागिरहेको छ। नेपालमै केही गर्नुपर्दछ भन्ने सोच अपवाद मात्र भेटिन्छ। त्यही एउटा अपवादको पात्र बनेका छन्, गुल्मीका २३ वर्षीय गोकर्ण नेपाली। 

गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कर्म गरिरहेका छन्। उनको मुख्य धारणा ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’ भन्ने रहेको छ। मुख्य गरेर घाँस खेती गर्नुभएका नेपालीले झाडीमा मेहनत गरेर अर्थोपार्जन गर्ने बताउँछन्। उनले खाडी मुलुकमा जानुको सट्टा झाडीमा मेहनत गर्न सुझाउँछन्। 

उनले साउन २०७६ देखि ८० हजार रुपैयाँमा घाँस खेती सुरु गरेर त्यसलाई  अहिले ५० लाख रुपैयाँभन्दा बढी पुर्‍याएका छन्। उनले गत जेठदेखि  भदौसम्ममा १९ लाख रुपैयाँको घाँसको बिरुवाहरू बिक्री गरेका हुन्। उनीसँग गुल्मीका स्थानीय तहसँगै छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, प्यूठान र बाग्लुङका कृषकहरुले बिरुवाहरू खरिद गरेका छन्। 

उनीसँग अहिले रु ३१ लाख बराबरका इपिल–इपिल, राइखन्यु र नेपियरलगायत ४४ प्रकारका घाँसहरू छन्। उनले कूल एक सय २० रोपनी जग्गामा घाँस खेती गरेका छन्। सो जग्गामध्ये ८० रोपनी गोकर्ण आफ्नै हो भने बाँकी ४० रोपनी लिजमा लिएका छन्। बिहानदेखि साँझसम्मको समय खेतबारीमा व्यतीत गर्ने गोकर्णले घाँसखेतीसँगै बाख्रापालनसमेत गरेका छन्। उनले घाँस बिक्री नभएको समस्यालाई दीर्घकालीन समाधानको उपाय बाख्रापालनलाई रोजेको बताए। नेपालीको आधुनिक खोर निर्माण गरी त्यसमा ३६ वटा बाख्रा राखेका छन्। भौतिक संरचना र माउ बाख्रा खरिदसँगै कूल छ लाख रुपैयाँ लगानी गरेका गोकर्णले आम्दानीको सुरुआती चरणमा रहेको बताउँछन्। 

रोजगारी सिर्जना
गोकर्णले सुरु गरेको घाँस खेती र बाख्रापालनबाट रोजगारीसमेत सिर्जना भएको छ। आफसँगै दिनभर अर्का एक र मौसमी रुपमा १०÷१२ गरी औसतमा दैनिक आठजनाले फर्ममा रोजगारी पाएका छन्।

यीबाहेक आमा विष्णु नेपाली, भाइ करण र बहिनी गोमा पनि गोकर्णलाई हरेक क्षण सहयोग गर्छन्। ‘‘कृषि र पशुपालनमा व्यवस्थित लगानी गरेमा रोजगारी सिर्जना हुन्छ”, गोकर्ण भन्छ्न। उनले आफ्नो फर्ममा कामदार अभाव हुने गरेको गुनासो व्यक्त गरे। स्थानीयले आफ्नै गाउँमा काम गर्न हिच्किचाअट मान्ने गरेको अनुभव गोकर्णसँग छ। राम्रै तलब सुविधामा पनि कामदार नपाएको समस्या उनले झेलिरहेका छन्। 

गोकर्णले आफू घाँस खेतीमा पशुपालनबाटै प्रेरित भएको बताउँछन्। पशुपालन धेरै ठाउँमा गरिरहेको देखेका उनले पशुको आहार व्यवस्थापन सहरबाट भइरहेको देख्नुभयो। आहारको व्यवस्थापन आफैँले गर्न सकेमा आम्दानीको स्रोत बढ्नेमा उनको बुझाइ रह्यो। त्यसपछि आफू घाँस खेतीमा प्रेरित भएको उनले बताए। 

अझै पनि घाँस खेतीमा कमी भएकाले अरूले यो व्यवसाय सुरुआत गरेमा पनि निकै फाइदा पुग्ने उनको धारणा छ। आफू घाँस खेती र बाख्रापालनबाट निकै सन्तुष्ट रहेको भन्दै गोकर्णले पशुपालन व्यवसाय बढिरहेसम्म लगानी नडुब्ने बताउँछन्। आफ्नो बुबा चिन्ताबहादुरलाई ४० वर्षको अल्पायुमा गुमाउनु भएका गोकर्ण पेसाप्रति विचलित नभई अडिग रहे। उहाँ हरेक परिस्थितिसँग जुधेर अगाडि बढ्नुपर्ने बाध्यता सबैमा हुने सुझाउँछन्।

मोटरसाइकल बेचेर लगानी
केही गर्ने हुटहुटीले उनले मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गरे। उनले ८० हजार रुपैयाँमा मोटरसाइकल बेचेर घाँसको बीउ तथा बिरुवा ल्याएर रोपे। पछि त्यही घाँसको खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेर चढ्न सफल भए। 

वार्षिक चार महिना घाँसको हाहाकार हुने भएकाले आपूm घाँस भण्डारणमा जुट्न थालेको गोकर्णले बताए। फागुनदेखि जेठ महिनासम्मको सुक्खायाममा घाँसको हाहाकार हुने गर्छ। त्यो समयका लागि वर्षायाममा घाँस भण्डारण गर्न आफू लागिरहेको उनले बताए। “मैले चार महिनाका लागि घाँस भण्डारण गर्ने सोच बनाएकाले इस्मा गाउँपालिका र कृषि ज्ञान केन्द्रसँग पनि सहयोगको अपेक्षा राखेको छ”, गोकर्णले भने। घाँस खेती गरेर अन्य पालिकामा  निर्यात गर्दा पनि आफूलाई गाउँपालिकाको सहयोग नगरेको भन्दै जनप्रतिनिधिहरुले हौसला दिएमात्र पनि पुग्ने उनको भनाइ छ। 

पागलको उपनाम पाएँ
ग्रामीण भेगका खेतबारीमा अहिले पनि परम्परागत खेती गर्ने चलन रहेको छ। मकै, धान, कोदो र गहुँ खेती भइरहेको आफ्नो खेतबारीमा घाँस खेती सुरु गर्दा गोकर्णलाई गाउँलेले पागलको उपनाम दिएका थिए। “सबैले मलाई पागल भन्दै हिँडिरहेको सुन्दा पनि म कत्ति विचलित भइन्”, गोकर्णले भने। कर्मबाट प्रतिक्रिया दिने अठोट बोक्नुभएका गोकर्णले गाउँलेको पागल उपनाममा केही पनि नबोलेको सुनाउँछन्। “सुरुआती चरणमा पागल भन्नेहरुले अहिले प्रशंसा गर्दा आफूलाई सफल भएको अनुभूति हुन्छ”, उनले भने।

गोकर्णले कृषि र पशुपालनबाट छिट्टै प्रतिफल खोज्न नहुने बताए। “वर्तमान नेपाली समाज दिनभर काम गर्ने साँझ प्रतिफल खोज्ने छन्”, उनले भने, “दीर्घकालीन अपेक्षा राखेर मात्र नेपाली माटोसँग खेल्नुपर्दछ।” छोटो समयमा धेरै फाइदा खोज्दा आफैँलाई नोक्सानी हुने उनको भनाइ छ। परिश्रम निरन्तर गर्ने नतिजा नखोज्ने बानीले अन्तिममा सफलता दिलाउने अनुभव प्रत्यक्ष आफूले गर्न सकेको गोकर्णले बताउँछन्।

हचुवाको भरले कुनै क्षेत्रमा पनि आर्थिक लगानी नगर्न उनी अरूलाई सुझाउँछन्।  सुझबुझबाट मात्र आर्थिक लगानी गर्नुपर्नेमा उनको जोड छ। “सबैसँग सल्लाह गरेर व्यवसाय सुरु गर्नुपर्दछ”, उनले भने, “आफ्नै मेहनत र लगावको कारणले मात्र सफल हुन सकिन्छ।” श्रम गर्न हिच्किचाअट मान्नै नहुने गोकर्णको तर्क छ। परिवारिक साथ, सहयोग र समर्थन भएमा मात्र कृषि र पशुपालन व्यवसाय सफल हुने उनले बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×