एजेन्सी - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर लगाएको प्रतिबन्ध ‘युद्धको घोषणा’ रहेको बताएका छन्। पुटिनले पश्चिमा देशले आफू र रुसमाथि प्रतिबन्ध लगाएर ‘युद्धको घोषणा’ गरे पनि त्यस्तो नभएको दाबी गरे।
पुटिनले युक्रेनी आकाशलाई ‘नो फ्लाइ जोन’ (उडान प्रतिबन्धित क्षेत्र) घोषणा गर्न खोज्नु युद्धमा सामेल हुन खोज्नु रहेको भन्दै चेतावनी दिएका छन्।युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले युक्रेनलाई नो फ्लाइ जोन घोषित गर्न नेटो राष्ट्रसँग आग्रह गर्दै आएका छन्। तर नेटोले गएको शुक्रबार युक्रेनको आग्रह अस्वीकार गरी नो फ्लाइ जोन घोषित गरेन। त्यसपछि जेलेन्स्कीले नेटो निर्णयको आक्रोशित रुपमा निन्दा गरेका थिए।
रुसी सैनिकले युक्रेनमा गम्भीर जवाफी आक्रमणको सामना गरिरहेका बेला पुटिनले आपतकालको घोषणा गर्ने या मार्सल कानुन लागु गर्न सक्ने चर्चा भइरहेको छ। तर पुटिनले त्यस्तो कुनै योजना नरहेको दाबी गरेका छन्।
मस्को नजिकै रहेको एक तालिम केन्द्रमा महिला विमान परिचारिकाहरुको समूहलाई सम्बोधन गर्दै पुटिनले यस्तो बताएका हुन्। रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमाथि युद्ध सुरु गरेको हो। त्यसयता लगातार युद्ध जारी छ। रुसी सैनिकले सर्वसाधारणलाई निशाना बनाएका छन्।
प्रमुख शहरहरुमा निरन्तर गोलाबारी, मिसाइलसहितका आक्रमण रुसले गरेको छ। विश्वव्यापी रुपमा आलोचना हुँदै आए पनि रुस रोकिएको छैन। पश्चिमा राष्ट्रले युक्रेनमा रुसले आक्रमण थाले लगत्तै कडा प्रतिबन्ध लगाएका छन्। यस्तै पुटिनको विदेशमा रहेको सम्पती फ्रिज गरेका छन्।
यस्तै रुसका विभिन्न बैंकहरुलाई स्वीफ्ट भुक्तानी प्रणालीबाट निष्काशन गरेका छन्। यसको असर रुसको अर्थतन्त्रमा गम्भीर रुपमा देखिएको छ।