एजेन्सी - राष्ट्रको जनसङ्ख्या बढाउन र देशको श्रमशक्तिमा योगदान गर्न चीन सरकारले विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ ।
देशमा गम्भीर जनसाङ्ख्यिक सङ्कट उत्पन्न हुन नदिन सरकारले विवाहित दम्पतिलाई कर र आवास ऋण, शैक्षिक लाभलगायत नगद प्रोत्साहन उपलब्ध गराएको हो ।
गत वर्षको अन्त्यमा चिनियाँ मुख्य भूमिको जनसङ्ख्या एक अर्ब चालीस करोड १३ रहेको र नवजात शिशुको सङ्ख्या एक करोड ६२ लाखमा झरेको ग्लोबल टाइम्सले जनाएको छ । नवजात शिशु र कालगतिले मर्ने चिनियाँ नागरिकको सङ्ख्या हाराहारीमा रहेको उक्त पत्रिकाले छापेको छ ।
दशकौंसम्म चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो एक बच्चा नीतिलाई कडाइका साथ कार्यान्वयन गरेको तथा महिला अधिकारको दमनले जन्म नियन्त्रण गर्न बाध्य दम्पतिले अब तीनवटासम्म सन्तान जन्माउन पाउने भएका छन् तर विवाहित जोडी नयाँ सुविधा र प्रोत्साहन भत्ताप्रति खासै आकर्षित भएका छैनन् । एक महिला उक्त सुविधाबाट वञ्चित छन् ।
चिनियाँ महिलाहरूको बढ्दो शैक्षिक र आर्थिक विकासका कारण उनीहरूको विवाह गर्ने प्रवृत्ति पनि पुरुषको तुलनामा कम छ । गत वर्ष, बेइजिङले नयाँ जनसङ्ख्या र परिवार योजना कानून जारी गरयो जसले चिनियाँ दम्पतीहरूलाई तीनवटा बच्चा जन्माउन अनुमति दिए पनि भरणपोषणलगायत अभिभावकीय जिम्मेवारी बहनका निम्ति बढ्दो लागतका कारण थप बच्चा जन्माउने चाहना उनीहरूमा नरहेको बताइएको छ ।