काठमाडौँ - महिला एसिया कप २०२२ मा, लिग चरणको अन्तिम दिन ११ अक्टोबरमा, पाकिस्तानले श्रीलंकालाई रोमाञ्चक खेलमा ५ विकेटले पराजित गर्दै अंक तालिकामा दोस्रो स्थानमा रहेको छ।
बंगलादेश र युएईको खेल वर्षाका कारण रद्द हुँदा त्यसकाे फाइदा थाइल्याण्डलाई भयाे। घरेलु टाेली बंगलादेश बाहिर हुँदा चौथो स्थानमा रहँदै थाइल्याण्डको टोली सेमिफाइनलमा प्रवेश गरेको छ। अंक तालिकामा पहिलो र श्रीलंका तेस्रो स्थानमा रहँदै भारतीय टोली सेमिफाइनलमा पुगेका छन्।
पहिले खेलेको श्रीलंकाले १८.५ ओभरमा ११२ रन बनाएर अलआउट भएको थियो। कप्तान चमारी अटापट्टुले २६ बलमा ४१ रनको उत्कृष्ट पारी खेलेकी थिइन्। उनी बाहेक अन्य कुनै पनि खेलाडीकाे प्रदर्शन उत्कृष्ट रहेन। अन्त्यमा ओशादी रणसिङ्घेले २६ रनको इनिङ्स खेल्दै टोलीलाई १०० भन्दा माथि पुर्याएकी थिइन्।
‘प्लेयर अफ द म्याच’ ओमाइमा सोहेलले मात्र १३ रन दिएर ५ विकेट लिएकी थिइन्। लक्ष्यको जवाफमा पाकिस्तानले १० औं ओभरमा ५१ रनको स्कोरसम्म ४ हार व्यहोरेको थियो तर निदा डारले २६ रनको अविजित इनिङ्स खेल्दै ७ बल बाँकी रहँदै टोलीलाई जित दिलाइन्।
आलिया रियाजले २० रन बनाइन् भने आयशा नसिमले ५ बलमा दुई छक्का प्रहार गर्दै १६ रनको अविजित इनिङ्स खेलेर टोलीलाई जित दिलाएकी थिइन्। यसअघि पहिलो खेल वर्षाका कारण रद्द भएको थियो जसका कारण बंगलादेशको टोली सेमिफाइनलमा पुग्न सकेन। बंगलादेशले ६ खेलमा २ जितसहित ५ अंक जोडेको छ भने थाइल्याण्डले ६ खेलमा ६ अंक जोडेको छ।
अक्टोबर १३ मा भारतले पहिलो सेमिफाइनलमा थाइल्याण्डको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा पाकिस्तानले श्रीलंकासँग खेल्नेछ। सेमिफाइनलका विजेताले अक्टोबर १५ मा फाइनल खेल्नेछ।