लाेचन
तोरीका गेडा न स्वयम्भूका झैँ
कहिले बिलुप्त तृण कहिले अजङ्ग विशाल
मन मस्तिष्कमा
चन्द्रमा झैँ गोल घुमिरहन्छ
अद्भुत अलौकिक लोचन
भीडमा चारैतिरबाट चियाईरहेको हुन्छ
एकान्तमा ठिङ्ग अगाडी आई घुरिरहेको हुन्छ
रमाओस् भनेर सपना देखिदिन्छ
नअलमलोस भनेर बिपना नियाल्छ
मैसँग हाँसिदिन्छ मैसँग रोईदिन्छ
खुम्चेर आउँछ म उदास हुँदा
नाचेर आउँछ म खुसी हुँदा
केही न लिईकन सँधै दिइरहन्छ
अद्भुत अलौकिक लोचन
कहिले तोरण बाँध्न आउँछ, कहिले खादा बेर्न आउँछ
दही पालुङ्गो र माछामा
दायाँ वायाँका जलकलशमा
टिकादानीको रातो अक्षतामा
साइत सगुन र आशिस भएर
तपक झैँ टाँसिरहन्छ
अद्भुत अलौकिक लोचन
नलेखिँदा मेरा कलम बन्छ, लेखिँदा मेरा कविता बन्छ
सोच्दा मेरा बिचार बन्छ, पोख्दा मेरा भावना बन्छ
नलेखु त आफै लेखिन्छ, नहेरूँ त आफै देखिन्छ
सवरीलेझैं चाखेर मीठा मात्र चखाउँछ
मोहक मात्र सुनाउँछ
बाँकीका लागि
नयन पर्दा बन्द गरी पहरेदार भै उभिईरहन्छ
अद्भुत अलौकिक लोचन
पीडाका निलकाँडा निर्धक्क कुल्चेर आउँछ
अभावका जन्जाल हाँस्दै च्यातेर आउँछ
जूनसित आउँछ घामसित आउँछ
खहरे छाल चिर्दै रहरले आउँछ
असिना झेलेर आउँछ खडेरी झुल्सेर आउँछ
सागर फोडेर आउँछ पाताल चिरेर आउँछ
आशाले आउँछ भरोसाले आउँछ अनुरागले आउँछ
जे जसरी भए पनि "म" भनेर आउँछ
अद्भुत अलौकिक लोचन ।
कवि समा श्री