काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा जिम्बाब्वे ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्दै छ। नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय शृंखला शनिबारबाट सुरु हुने भनिएको थियो। तर, वर्षाका कारण शनिबार एकदिवसीय खेल सम्भव भएन।
परिवर्तित तालिकाअनुसार नेपालले पहिलो ट्वान्टी–२० खेल आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्न लागेको हो। यसअघि तीन खेलको एकदिवसीय शृंखला सकेपछि ट्वान्टी–२० शृंखला खेल्ने तालिका थियो। नयाँ तालिकाअनुसार ट्वान्टी–२० शृंखला सकिएपछि एकदिवसीय शृंखला सुरु हुनेछ।
नेपाल र जिम्बाब्वे ’ए’ बीचको खेल दिउँसो १ बजेबाट हुनेछ। ट्वान्टी–२० शृंखलाका लागि क्यानले शनिबारै सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्सीय टोलीको घोषणा गरेको थियो।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखला खेल्नका लागि नेपाली टोली अमेरिका जादै छ। त्यसको तयारीमा स्वरूप नेपालले जिम्बाब्वे ‘ए’सँग तीन ट्वान्टी–२० र तीन एकदिवसीय शृंखला खेल्न लागेको हो।