काठमाडौँ - हलिउड स्टार जनी डेप र एम्बर हर्डको मुद्दा एक महिनाअघि मात्र किनारा लागेको थियो। मुद्दा जनी डेपले जिते। अदालतले एम्बरले जनीमाथि लगाएको घरेलु हिंसाको आरोप झुटो भएको निष्कर्ष निकालेको थियो।
अहिले भने यी दुवैलाई अदालतले लिखित आदेश दिएको छ। आदेशमा एकअर्कालाई तिर्नुपर्ने क्षतिपूर्ति रकम तिर्न आदेश दिइएको छ।
एम्बरले लगाएको घरेलु हिंसाको आरोपविरुद्ध जनीले मानहानीको मुद्दा दायर गरेका थिए। अदालतले सो मुद्दामा एम्बरले जनीलाई १५ मिलियन डलर क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो।
यस्तै हर्डले लगाएको तीनमध्ये एक आरोप पुष्टि भएपछि उनले पनि २ मिलियन क्षतिपूर्ति पाउने भएकी थिइन्। डेपका वकिलले हर्डविरुद्ध डेली मेलमा सन् २०२० मा अभिव्यक्ति दिएर उनको मानहानी गरेको भन्दै हर्डलाई क्षतिपूर्ति दिन अदालतले आदेश दिएको थियो।