काठमाडाैँ - आसन्न एसियन कप छनोटका तयारीका लागि कतारको दोहामा पुगेको नेपाली राष्ट्रिय फुटबल टिमले आज टिमोर लिस्टेसँग मैत्रीपुर्ण खेल खेल्दैछ।
दोहा स्थित ग्राण्ड हमाद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती पौने १० बजे सुरु हुनेछ। कुवेतमा हुने एसियन कप छनोट खेल्न जान अगाडी नेपाली टिमले दोहामा करिव एक साताको प्रशिक्षण क्याम्प राख्नेछ। जस अन्तर्गत नेपालले टिमोर लिस्टे र ओमानसँग दुई मैत्रीपुर्ण खेल खेल्न लागेको हो।
जस अन्तर्गत नेपालले पहिलो खेल टिमोर लिस्टेसँग खेल्दैछ। नवयुग श्रेष्ठको कप्तानीमा नेपाली टिमले पहिलो पटक खेल्न लागेको हो। यो पटक नेपाली टिममा युवा खेलाडीको बाहुल्यता रहेको छ।
यसअघि भएका तीन भिडन्तमा नेपालले दुईमा जित र एक बराबरी खेलेको थियो। नेपालले टिमोर लिच्टेसँग सात बर्षपछि खेल्न लागेको हो। अन्तिमपटक नेपालले सन् २०१६ को नोभेम्बर ५ मा खेलेको थियो। जसमा गोलरहित बराबरी भएको थियो।
नेपालले दोस्रो खेल जेठ २० गते ओमानसँग खेल्नेछ। पछिल्लो पटक नेपालले ओमानसँग साफ च्याम्पियनसिप अगाडी मैत्रीपुर्ण खेल खेल्दा सात दुईले हारेका थिए।
कतारमा प्रशिक्षण क्याम्पपछि नेपाली टिम एसियन कप छनोटका लागि कुवेत जानेछ। जसमा नेपाल समुह ए मा रहेको छ। नेपालले पहिलो खेल जुन आठमा जोर्डनसँग खेल्नेछ। दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतसँग र अन्तिम खेलमा जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ।