काठमाडौं, मंसिर २७ — लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उपाधि जित्दै उत्कृष्ट पुनरागमनको कथा लेखेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ११औं ओभरमा ह्याट्रिक गर्दै खेलको मोड बदले। ट्रम्पलम्यान, रोहित र शेर मल्लले समान ३–३ विकेट लिएर सुदूरपश्चिमको ब्याटिङ तहसनहस पारे।
८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो। ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गर्दै १३ बलमा ४२ रन बनाएर जितको आधार तयार पारे। उनले पहिलो ओभरमै कप्तान दीपेन्द्रसिंह ऐरीविरुद्ध ४ छक्का प्रहार गर्दै खेल एकतर्फी बनाएका थिए।
गत सिजन अंकतालिकाको पुछारमा रहेको लुम्बिनी यो सिजन पनि सुरुमा संघर्षमा थियो। तर लगातार तीन हारपछि लगातार ६ जित निकाल्दै प्लेअफ हुँदै उपाधिसम्मको यात्रा तय गर्यो। एलिमिनेटरमा काठमान्डु र दोस्रो क्वालिफायरमा विराटनगरलाई पराजित गर्दै फाइनल पुगेको लुम्बिनीले अन्ततः सुदूरपश्चिममाथि निर्णायक जित निकाल्यो।
यससँगै सुदूरपश्चिम लगातार दोस्रो सिजन उपविजेतामै सीमित रह्यो। उत्कृष्ट लिग चरणपछि पनि फाइनलमा अपेक्षित प्रदर्शन गर्न नसक्दा उपाधि हातबाट फुत्कियो।