काठमाडौँ - एसएस राजामौली निर्देशित तेलुगू फिल्म ‘आरआरआर’ नेपाल मात्र होइन, विश्वभर चर्चित रह्यो। मार्चमा फिल्म प्रदर्शनमा आएसँगै दर्शकदेखि समीक्षकसम्मले यसको प्रशंसा गरे। नेटफ्लिक्समा फिल्म रिलिज भएपछि पश्चिमा फिल्म निर्माताले पनि राजामौलीलाई बधाई सन्देश पठाए।
‘आरआरआर’को चर्चा अब विश्व प्रतिष्ठित ओस्कार अवार्डसम्म पुगेको छ। प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले ‘आरआरआर’मार्फत जुनियर एनटीआरले अभिनेतातर्फको ओस्कार अवार्ड जित्न सक्ने प्रक्षेपण गरेको छ।
भेराइटीको यो प्रक्षेपित सूचीमा जुनियर एनटीआरसहित हलिउड अभिनेताहरु क्रिस इभान्स, एडम स्यान्डलर र केसी एफलेक पनि अटाएका छन्।
‘आरआरआर’मा एनटीआरले कोमाराम भीम नामक आदिवासी युवकको भूमिका निर्वाह गरेका छन्। फिल्ममा उनले बेलायतीको कब्जामा पुगेकी बालिकालाई फिर्ता ल्याउन संघर्ष गर्ने युवकको चरित्रमा अभिनय गरेका छन्।
‘आरआरआर’मा रामचरण, सामुथीराकानी, अजय देवगण, आलिया भट्ट र श्रीया शरणले समेत अभिनय रहेको छ।