काठमाडौँ - सातौं राष्ट्रिय कृषि गणनाअन्तर्गत चितवनमा १७९ क्षेत्रमा कृषि गणना गरिने भएको छ।
चितवनमा रहेका सात पालिकालाई सो क्षेत्रमा विभाजन गरी गणना गर्न लागिएको हो। जिल्ला कृषिगणना कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ३७, रत्ननगर नगरपालिकामा २५, खैरहनी नगरपालिकामा २८, राप्ती नगरपालिकामा २५, कालिका नगरपालिकामा २२, माडी नगरपालिकामा २८ र इच्छाकामना गाउँपालिकामा १४ गणना क्षेत्र रहेका छन्। कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार हरेक १०-१० वर्षमा गरिने कृषि गणना सम्पन्न गर्नका लागि जिल्लामा ८० कर्मचारी परिचालन गरिनेछ। सोह्र सुपरिवेक्षक र ६४ गणक परिचालन गरिने उनले जानकारी दिए।
उनीहरूले ४५ दिन काम गर्नेछन्। गणकलाई यही चैत २४ गतेसम्म करारमा नियुक्त गरेर काम लगाइनेछ। गणक र सुपरिवेक्षकलाई चैत २५ गतेदेखि आगामी वैशाख ३ गतेसम्म तालिम दिइनेछ। तालिमपछि वैशाख ६ गतेबाट ज्येष्ठ १९ गतेसम्म तथ्याङ्क सङ्कलनमा खटाइने भण्डारीले जानकारी दिए। गणकले एक गणना क्षेत्रमा २५ परिवारको तथ्याङ्क सङ्कलन गर्नेछन्। उनीहरूले विभिन्न १३ विधामा प्रश्नावली भर्नेछन्। यस्तै, वडास्तरीय सामुदायिक प्रश्नावलीसमेत समेटिएका विषय रहनेछन् ।
नेपालको पछिल्लो जनगणनाको प्रारम्भिक तथ्याङ्कअनुसार ४१ लाख घरपरिवार कृषक परिवार रहेको पाइन्छ। गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइनेछ। यस्तै, कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्याङ्क सङ्कलन गर्नेछन्। कृषि वन, कृषि ऋण, बीमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग माटो परीक्षण कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिने उनले बताए।
जिल्लामा कृषि गणना कार्यालय चैत १ गते स्थापना गरी काम सुरु गरिएको उनले जानकारी दिए। कृषि गणनाबाट प्राप्त तथ्याङ्कको प्रयोगले सरकारले परिकल्पना गरेको कृषि क्षेत्रको विकास एवं समृद्धिका लागि मद्दत पुग्ने जनाइएको छ।