काठमाडौँ । इलामका एक युवा सात दिनदेखि बेपत्ता भएका छन्।
इलाम माइजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत सात दिनदेखि सम्पर्कविहीन भएका हुन्। विदेश जाने तयारीमा रहेका उनी भारतबाट सम्पर्कविहीन भएको परिवारले जानकारी दिएको छ। पारिवारिक स्रोतका अनुसार विराट ओभरसिजमार्फत् क्रोएसिया जाने तयारीमा रहेका बस्नेत एक महिना पहिला काठमाडौँ गएका थिए। क्रोएसियाका लागि भारतको पहाडगञ्ज भन्ने ठाउँमा यातायात छाप लगाउन भन्दै बस्नेतसहित केही युवा एजेन्टमार्फत् भारत गएका थिए। विदेश लैजाने एजेन्ट एकराज शेर्माका सहयोगी कल्याण राईसँगै यही माघ ५ गते भारत गएका उनी भारतबाट नै सम्पर्कविहीन भएको बताइएको छ।
भारतको गुलाफ होटलमा बस्नुभएको सम्म जानकारी भए पनि त्यहीँबाट सम्पर्कविहीन भएको उनका भाइ पुकार बस्नेतले जानकारी दिए। उनका अनुसार बास बस्नका लागि होटल बुक गरेर बस्नेतलाई होटलमै छाडेर सँगै गएका पोखराका आशिष रानाभाटसहितको टिम फर्किएर आउँदा बस्नेत होटलमा नरहेको बताइएको छ। त्यहीँबाट बस्नेत सम्पर्कविहीन भएको आशिषले बताए। उनीसँग रानाभाटसहित मोरङका मनप्रसाद योङहाङ, मनबहादुर योङहाङ र कल्याण राईसमेत रहेका थिए।
परिवारका सदस्य बेपत्ता भएपछि बस्नेत परिवारमा चिन्ता छाएको छ। बस्नेत परिवारले घटनाका बारेमा थप बुझीदिन र सम्पर्कविहीन व्यक्तिको खोजी गरिदिन सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ। बस्नेत होटलबाट एक्लै घुम्न जाँदा पुनः होटल नचिनेर सम्पर्कविहीन भएको वा अन्य केही भएको भन्नेबारे अन्योल छ। बस्नेत परिवारले म्यानपावरसँग समेत खोजी गरिदिन आग्रह गरेको छ।