काठमाडौँ - अनुभवी ब्याटर बाबर हायत र अलराउन्डर यासिम मुर्तजा चम्कदा हङकङले टि-२० एसिया कप छनोटमा लगातार दोस्रो जित निकालेको छ। कुवेतलाई ८ विकेटले पराजित गर्दै हङकङ शनिबारदेखि युएईमा हुने टि-२० एसिया कपमा छनोट हुँदै भारत र पाकिस्तानसँग खेल्ने सम्भावना बढाएको छ।
जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १७.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो। हङकङको जितमा बाबर हायत ३० बलमा २ चौका र ५ छक्कासहित ५३ रनमा अविजित रहेका थिए। कप्तान निजाकत खान ४३ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा आउट भएका थिए।
ओपनर यासिम मुर्तजा ३३ बलमा ७ चौका र १ छक्कासहित ४६ रनमा आउट भए। कुवेतका मोहम्मद शफिक र अदनान इद्रिसले १-१ विकेट लिएका थिए।
त्यसअघि अलअमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो। एक समय ५७-६ को दयनीय अवस्थामा पुगेको कुवेतलाई एडसन सिल्भाले विष्फोटक ब्याटिङका साथ मध्यम योगफलमा पुयाएका थिए। सिल्भाले ३० बलमा १ चौका र ६ छक्कासहित ५६ रनको विष्फोटक इनिङ खेलेका थिए।
उस्मान पटेल १९ र मोहम्मद अस्लाम २१ रनमा आउट भएका थिए। हङकङका अजिज खान, एहसान खान र यासिम मुर्तजाले २-२ विकेट लिएका थिए। हङकङले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो।
हङकङले अन्तिम तथा निर्णायक खेलमा युएईसँग आज राती खेल्नेछ। हङकङ विजयी भएमा एसिया कपमा छनोट हुनेछ। पराजित भएमा भने नेटनरेटका कारण बाहिरिने छ। समान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहेको हङकङको नेटनरेट ०.७१६ रहेको छ। २ अंकका साथ दोस्रो स्थानमा रहेको युएईको नेटरनरेट १.०४५ रहेको छ।
युएई भने पहिलो खेलमा कुवेतसँग १ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा सिंगापुरलाई ४७ रनले हराएको थियो। एसिया कप २७ अगष्ट देखि सुरुहुनेछ। समूह ए मा भारत, पाकिस्तान र छनोट हुने १ टोली हुनेछन्। समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्।