काठमाडौँ - चलचित्र ‘छक्का पञ्जा-४’ हेमराज विसीले निर्देशन गर्ने भएका छन्। यसअघिका तीनवटै सिरिज दीपाश्री निरौलाले निर्देशन गरेकोमा चौथो सिरिज निर्देशन गर्न हेमराज विसी आइपुगेका हुन्।
चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरेलगायतका मुख्य भूमिकामा रहने छ। 'चलचित्र असारको पहिलो हप्तादेखि फ्लोरमा जानेछ,' निर्देशक विसीले भने, 'मुख्य कलाकार दीपक दाइको ग्रुप नै हो।' बाँकी कलाकार भने केही दिनपछि घोषणा गरिने उनले बताएका छन्।
‘छक्का पञ्जा’ नेपालमा हालसम्म सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने चलचित्रको सिरिज हो। चलचित्र कथा हेमराज र दीपकले संयुक्त रुपमा लेखिरहेका छन्।
चलचित्र आउँदो दसैंमा रिलिज हुने जनाइएको छ।